Share:

Share on facebook
Share on twitter
Share on linkedin

अनुसन्धानकर्ताहरूले क्षयरोगविरुद्धको उपचारमा ठूलो परिवर्तन ल्याउन सक्ने अपेक्षासहित एउटा नयाँ खोप विकसित भइरहेको बताएका छन् । उक्त खोपले क्षयरोगबाट दीर्घकालीन रूपमा जोगाउन सक्ने आशा गरिएको छ । क्षयरोगबाट विश्वभरि बर्षेनी १५ लाख मानिसले ज्यान गुमाउने गरेका छन् । सर्ने सम्भावना उच्च भएको यो रोग जीवाणुबाट सर्छ। यो रोगविरुद्ध अहिले उपलब्ध खोप बीसीजी त्यति प्रभावकारी छैन । नयाँ खोपको प्रारम्भिक परीक्षण भइसकेको छ । तर त्यसले प्रयोगको अनुमति पाउन अझै केही वर्ष कुर्नुपर्ने हुन्छ । अनुसन्धानमा संलग्न विश्वभरिका शोधकर्ताहरूको टोलीले पश्चिम भारतको हैदराबादमा फोक्सोको स्वास्थ्यसम्बन्धी एउटा सम्मेलनका क्रममा नयाँ खोपबारे जानकारी गराएको हो । जीवाणुको प्रोटीनबाट बन्ने यो खोपले मानिसमा रोगप्रतिरोधक क्षमता विकसित गराउँछ । अनुसन्धानकर्ताहरूका अनुसार नयाँ खोपले सबैभन्दा महत्वपूर्ण चरण ‘क्लिनिकल ट्रायल’ पूरा गरिसकेको छ र दक्षिण अफ्रिका केन्या तथा जाम्बियामा साढे तीन हजारभन्दा बढी मानिसमा त्यसको परीक्षण गरिसकिएको छ । क्षयरोग विशेषज्ञ डा. डेभिड लेविन्शनका अनुसार यो खोपले साँच्चिकै आमूल परिवर्तन गरिदिनेछ यो खोपको विशेषता के हो भने क्षयरोग निम्त्याउने जीवाणुबाट पहिलेदेखि सङ्क्रमित वयस्कहरूमा पनि प्रभावकारी देखिएको छ । डा. लेविन्शनका अनुसार उक्त खोप आफ्नो विकासको मध्य चरणमा छ र सुरक्षा एवं प्रभावबारे प्रारम्भिक सङ्केत दिनेगरी त्यसको डिजाइन गरिएको छ । अपेक्षा गरिएअनुसार आगामी परीक्षण पनि सफल भए यो खोपले क्षयरोगको उपचारमा क्रान्ति ल्याउने सम्भावना छ । डा. लेविन्शनका अनुसार यदि योजनानुरूप सबै कुरा अगाडि बढे भने सन् २०२८ सम्ममा मानिसहरूले यो खोप पाउन थाल्नेछन् । औषधि कम्पनी ग्ल्याक्सोस्मिथक्लाइनले क्षयरोगको खोपबारे करिब २० वर्षदेखि काम गरिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१८ मा एक करोड क्षयरोगी भएको अनुमान छ । विश्वको लगभग एकचौथाइ जनसङ्ख्या नदेखिनेगरी क्षयरोगबाट सङ्क्रमित छ ।

ताजा अपडेट