मानिसको लागी खाना खानु जति महत्वपूर्ण छ, खाएको खाना पाचन प्रक्रिया पश्चात निष्कासन गर्न पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यदी लामो समयसम्म दिसा वा पिशाब नगर्दा हाम्रो स्वास्थ्यमा विभिन्न समस्या आउन सक्छन् । वि.सं. २०६८ को जनगणनालाई नै आधार मान्ने हो भने पनि काठमाण्डौको जनसंख्या करिब १७ लाख भन्दा बढी छ । जसकालागि महानगरले करिब ४५ वटा सार्वजनिक शौचालयहरु सञ्चालनमा ल्याएको छ ।
एउटा शौचालयमा न्युनतम् ३८ हजार व्यक्ति र्निभर रहनुपर्ने देखिन्छ । जम्मा जनसंख्याको पचास प्रतिशतले मात्रै शौचालयको प्रयोग गर्ने हो भनेपनि प्रति व्यक्ति ६ सेकेण्डमा शौच गरिसक्नु पर्ने छ । सामान्यतया मुत्र त्यागकोलागि स्वस्थ्य मानिसलाई करिब २० सेकेण्डको समय लाग्ने विषेशज्ञ बताउनु हुन्छ ।
काठमाडौंमा दैनिक जसो हजारौंको संख्यामा मानिसहरुको आवजावत हुने गर्दछ । अझै, भिडभाडयुक्त ठाउँमा न्युन मात्रामा सार्वजनिक शौचालय भएका कारण सर्वसाधारणले दिनप्रतिदिन सास्ति भोग्दै आएका छन् । वातावरण व्यवस्थापन विभागका अनुसार काठमाण्डौं उपत्यकामा कम्तिमा २ सय शौचालयको आवश्यकता रहेको छ ।
काठमाडौंमा सार्वजनिक शौचालय नभएको भने पक्कै पनि होइन, तर जति हुन पर्ने हो त्यो भन्दा निकै न्युन छन् । अझ बिडम्बनाको कुरा त के छ भने , काठमाडौंमा भएका धेरैजसो सार्वजनिक शौचालयहरुमा सरसफाई नहुँदा दिनानुदिन दुर्गन्धित बन्दै गईरहेका छन् ।

यी दृश्यमा देखिएका शौचालयहरु त नमुना मात्र हुन् । अधिकांश शौचालयहरुको अवस्था साह्रै नाजुक छ । विशेष गरी बच्चाहरुलाई समयमै दिसा पिसाब नगराउने हो भने स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । चिकित्सकका अनुसार समयमै शौचालय नगएमा, मुत्रथैलीमा सङ्क्रमण, पिसाबनलीमा समस्या, पिसाव चुहिने, पिसाब पोल्ने र छिनछिनमा पिसाब लाग्ने जस्ता समस्याहरु निम्तिन सक्छन् ।
काठमाडौंमा आवश्यकता अनुसार शौचालय नभएको र भएका शौचालयहरु पनि अत्याधिक फोहोर भएका कारण शौच गर्न नसकिने अवस्था छ । भनेको ठाँउमा शौचालय नहुने र भएका शौचालयहरु पनि काहाँ छन् भनेर कतिपयलाई थाहा नै हुदैन । उचित सरसफाईको अभाव, बढ्दो जनघनत्व र अव्यवस्थित ठाउँमा शौचालयगृह भएका कारण आवजावत गर्न पनि सर्वसाधारणले सास्ति भोग्नु परेको छ । यति मात्र हैन सार्वजनिक शौचालयकोे अवस्था देखेर सर्वसाधारणहरु पनि वाक्क बनेका छन् ।
शौचालय बिनाको जीवन कल्पना पनि गर्न सकिदैन । सरसफाईयुक्त शौचालयको प्रयोगले शरिरलाई स्वस्थ्य रहन र दिसा–पिशाब जन्य रोगहरुबाट बच्न मद्दत पुग्दछ । सार्वजनीक शौचालयको अभावलाई मध्यनजर गर्दै सम्बन्धित निकायले गम्भिर रुपमा सोच्नु पर्ने देखिन्छ ।



